लन्डनमा शेर्पा समुदायले मनायो २१५३ औँ ग्याल्पो ल्होसार
बेलायतमा बसोबास गर्ने शेर्पा समुदायले आफ्नो परम्परागत नयाँ वर्ष २१५३ औँ ग्याल्पो ल्होसार उत्साहका साथ मनाएका छन्। शेर्पा संघ बेलायतको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई एकै ठाउँमा भेला गराउँदै हिमाली संस्कृतिको झल्को दिएको थियो।
फेब्रुअरी २८ मा लन्डनको प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा आयोजित कार्यक्रममा बेलायतका विभिन्न सहरबाट आएका सयौँ शेर्पा समुदायका सदस्यहरू सहभागी भएका थिए। कार्यक्रममा सहभागीहरू आफ्नो मौलिक पोशाक, परम्परागत गहना र सांस्कृतिक पहिरनमा सजिएर उपस्थित हुँदा कार्यक्रम स्थलमा शेर्पा संस्कृतिको विशेष माहोल सिर्जना भएको थियो।
समारोहको उद्घाटन लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी र शेर्पा संघ बेलायतका अध्यक्ष रिन्जी लामा शेर्पालगायत अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए। कार्यक्रम महासचिव नोर्बु शेर्पाले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष नुरी शेर्पाले दिएका थिए। प्रारम्भमा वाङचु शेर्पा र आङ लाक्पा शेर्पाले स्वागत गीत प्रस्तुत गरेका थिए र त्यसपछि नेपाल तथा बेलायतका राष्ट्रिय गान बजाइएको थियो।
कार्यक्रमका क्रममा सोलु क्षेत्रको सेर्लो गुम्बाबाट आएका लामा गुरु नबंङ्ग कुनसाङ शेर्पाले ल्होसार पर्वको धार्मिक तथा आध्यात्मिक महत्वबारे चर्चा गर्दै सबैको मंगलमय भविष्यको कामना गरेका थिए। कार्यक्रममा विभिन्न वक्ताहरूले प्रवासमा बस्दै पनि नेपाली मौलिक संस्कृति जोगाइराख्न समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका थिए।
प्रमुख अतिथि विपिन दुवाडीले विदेशमा बसोबास गर्ने नेपालीहरूले आफ्नो भाषा, संस्कार र परम्परालाई जोगाइराख्नु गर्वको विषय भएको बताए। उनले नेपाली संस्कृति विश्वभरि रहेका नेपालीहरूको पहिचान भएको उल्लेख गर्दै नयाँ पुस्तालाई पनि आफ्ना जरा र संस्कृतिसँग जोडिराख्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रम संयोजक निमा शेर्पाले शेर्पा समुदायको परम्परा र संस्कृतिलाई निरन्तरता दिन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताए। उनले ल्होसार पर्वले परिवार, साथीभाइ र समुदायबीचको सम्बन्धलाई बलियो बनाउने अवसर प्रदान गर्ने बताए। कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, कलाकार, स्वयंसेवक तथा सञ्चारकर्मीलाई धन्यवाद समेत व्यक्त गरिएको थियो।
संघका अध्यक्ष रिन्जी लामा शेर्पाले प्रवासमा बसोबास गर्ने शेर्पा समुदायलाई एकजुट बनाउँदै भाषा र संस्कृतिको संरक्षणमा संस्थाले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मातृभाषा र मौलिक पहिचान जोगाउनु अहिलेको महत्वपूर्ण जिम्मेवारी भएको बताए।
औपचारिक कार्यक्रमपछि सांस्कृतिक प्रस्तुतिहरू सुरु भएका थिए। जस्मिन शेर्पाको सञ्चालनमा भएको सांस्कृतिक सत्रमा स्थानीय कलाकार तथा बालबालिकाहरूले स्याब्रु, टुङ्ना लगायतका परम्परागत नृत्य र आधुनिक प्रस्तुति देखाएका थिए। कार्यक्रममा मनोरञ्जनका लागि राफल ड्र पनि आयोजना गरिएको थियो।
सांस्कृतिक कार्यक्रमपछि सहभागीहरू डिजे संगीतमा नाचगान गर्दै ल्होसार पर्वको उल्लासपूर्ण वातावरणमा रमाएका थिए।
