शेर्पा संघ बेलायतले २८ फेब्रुअरीमा भव्य रूपले मनाउदै ग्याल्पो ल्होसार
शेर्पा संघ बेलायतले शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार लन्डनमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । हिमाली समुदायको राष्ट्रिय पर्व तथा नयाँ वर्ष ग्याल्पो ल्होसार भव्य रूपमा मनाउने भएको छ। पर्वलाई संगठित र आकर्षक रूपमा सम्पन्न गर्ने उद्देश्यले संघले शनिबार उलवीचमा पत्रकार सम्मेलनमार्फत कार्यक्रमको औपचारिक घोषणा गरेको हो।
संघले आउंदो २८ फेब्रुअरीमा लन्डन प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा हिमाली समुदायको राष्ट्रिय पर्व तथा नयां वर्ष सिङ मो डुल लो २१५३ औं ल्होसार विशेष कार्यक्रमका साथ मनाउन लागेको हो ।
संघका अध्यक्ष रिन्जी शेर्पा लामाले ल्होसार शेर्पा समुदायको पहिचान, एकता र सांस्कृतिक गौरवसँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै प्रवासमा रहेका समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली तथा हिमाली समुदायलाई सहभागिताका लागि आह्वान गर्दै पर्वलाई सामूहिक उत्सवका रूपमा मनाउन आग्रह गरे।कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीसहित केही विशिष्ट अतिथिलाई समेत आमन्त्रण गरिएको बताए।
संघका महासचिव नोर्बु शेर्पाले पत्रकार सम्मेलनमा जानकारी दिँदै ल्होसार कार्यक्रम आगामी २८ फेब्रुअरीमा लन्डनको प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा आयोजना गरिने बताए। उनका अनुसार कार्यक्रममा परम्परागत ल्हाप्सो पूजा, सांस्कृतिक झाँकी, शेर्पा तथा हिमाली लोकनृत्य, गीत–संगीत, भेषभूषा प्रदर्शन, सामूहिक शुभकामना आदान–प्रदान तथा सामुदायिक भेटघाट जस्ता विविध कार्यक्रम समावेश गरिनेछन्। साथै, नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्पराबारे जानकारी गराउने उद्देश्यले विशेष प्रस्तुति तथा सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ।
कार्यक्रम संयोजक निम्मा शेर्पाले कार्यक्रम प्रवेशका लागि यसपटक इ-टिकेटिङ सिस्टमलाई यसपटक निरन्तरतता दिएको बताउँदै टिकट खरिद शेर्पा संघ बेलायतको वेबसाइट wwwअनलाइन टिकट लिन यहां क्लिक गर्नुहोलाबाट गर्न सकिने बताए ।
पत्रकार सम्मेलन तथा तयारी कार्यक्रममा संघका निवर्तमान अध्यक्ष आङदावा शेर्पा, सांस्कृतिक सचिव आङ लाक्पा शेर्पा, साउथ शाखाका निवर्तमान अध्यक्ष वाङछु शेर्पा, प्रथम उपाध्यक्ष रेन्जी शेर्पा लामा, नुरी शेर्पा, महासचिव नोर्बु शेर्पा, कोषाध्यक्ष छेते शेर्पा, सहकोषाध्यक्ष निमा शेर्पा, मिडिया कोअर्डिनेटर तेन्जी शेर्पा, ल्होसार संयोजक निमा शेर्पा, साथै छोङ शेर्पा, निम लामु शेर्पा, निग्मा शेर्पा, निम्मा शेर्पा, पेम्बा शेर्पा, नवङ शेर्पा, लक्की शेर्पा, इन्जेन शेर्पा लगायत कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।
पत्रकार सम्मेलनमा प्रथम उपाध्यक्ष नुरी शेर्पा, सचिव जाङमु शेर्पा, कोषाध्यक्ष छेते शेर्पा, सह कोषाध्यक्ष माया लामा, सल्लाहकारहरु आङदाबा च्याबा, दावा सोनम लामा लगायतले आ-आफ्नो धारणा राखेका थिए।कार्यक्रम सफल बनाउन युवा व्यवसायी छोङ नोर्बु शेर्पा लगायतले प्रायोजन गरेका छन्।
शेर्पा संघ बेलायतले २८ फेब्रुअरीमा भव्य रूपले मनाउदै ग्याल्पो ल्होसार - London Nepal News
